श्रावण १९, २०७३- कुनै अप्रत्यासित घटना आइनपरे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार प्रधानमन्त्री चुनिँदैछन्। प्रधानमन्त्रीका लागि संसद्मा हुने मतदानका लागि दाहालको मात्रै उम्मेदवारी परेको छ।
मंगलबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा दाहालले साढे ११ नबज्दै उम्मेदवारी दर्ता गराएका थिए। प्रस्तावक कांग्रेस सभापति शेरबहादुर देउवासहित संसद् भवन नयाँ बानेश्वर पुगेर दाहालले उम्मेदवारी दर्ता गराएका हुन्। संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा हुँदैन। एक मात्रै उम्मेदवारीको अवस्थामा प्रस्तावको पक्ष/विपक्षमा मत विभाजन (सांसदको वर्णानुक्रमअनुसारको नामावलीमा हस्ताक्षर गर्ने) प्रक्रिया अपनाइन्छ। यस्तो प्रक्रियामा संसद्मा तत्काल बहाल रहेको कुल सदस्य संख्याको बहुमतको समर्थन प्राप्त भएपछि मात्रै प्रधानमन्त्री निर्वाचित भएको घोषणा हुन्छ।
http://bit.ly/2aHdQUf


