ओली–भट्टराई घोचपेच देउवा आए, दाहाल आएनन् सहभागीमा मधेसी र अल्पसंख्यक बढी

ओली–भट्टराई घोचपेच
नयाँ शक्ति स्थापना घोषणा सभामा अपराहन पुगेका प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगमा दुई सय पार्टी दर्ता भइसकेकाले राष्ट्रिय विकासमा फरक र सकारात्मक भूमिका खेल्ने पार्टीलाई स्वागत गर्ने बताए ।
‘भर्खर बन्दै गरेको पार्टीले यो गरेन, ऊ गरेन भन्न मिलेन, बनिसकेपछि के–के गर्छ त्यो हेर्नुपर्छ,’ ओलीले ठटयौली भाव उसैगरी देखाए, ‘आजको यो भेला देख्दा म स्पष्टै छु, म सम्भावना पनि देख्छु, नयाँ शक्तिले एमालेबाहेक सबै पार्टीलाई धक्का दिन सक्छ ।’ नयाँ संविधानले कुनै पनि भूगोल, भाषा, जातिको नेपालीलाई विभेद नगरेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षसँग वार्ताका लागि आइतबार फेरि पत्र पठाएको जानकारी दिए ।
ओलीपछि बोलेका भट्टराईले नयाँ शक्तिले कुनै पनि दलका मानिस तानेर दल बनाउन नखोजेको प्रस्टीकरण दिए । आगामी चुनावमा पहिलो शक्ति बनेर देशको नेतृत्व गर्नेसमेत चुनौती दिए । ‘प्रधानमन्त्रीज्यूले भर्खरै बोलेर जानुभयो, तर हामी कुुखुराजस्तो भुइँ खोस्रने होइन, चीलजस्तो आकाशमा कावा खाने पार्टी बन्न चाहन्छौं,’ उनले जवाफ फर्काए, ‘कुनै पनि दलका सदस्य भएकै आधारमा तान्ने हाम्रो नीति छैन, हामी नयाँ विचार लिएर हिँड्छौं, त्यसलाई कसैले रोक्न सक्दैन ।’
देउवा आए, दाहाल आएनन्
घोषणा सभामा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आर्थिक समृद्धिका लागि वातावरण बनाउन आग्रह गरे । ‘लोकतन्त्र आइसकेको छ, अब आर्थिक विकासका लागि राजनीतिक स्थिरता कायम गरौं,’ देउवाले भने, ‘नयाँ शक्तिले आर्थिक विकासका लागि जोड दिएको राम्रो हो, यसका लागि लगानीको वातावरण चाहिन्छ, बन्द/हडतालले त्यो वातावरण बिथोलेको छ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने बाँके, बर्दियातिर रहेकाले अनुपस्थित रहे । महासचिव कृष्णबहादुर महराले राजनीतिक कमान्ड दह्रो बनाउन सके आर्थिक समृद्धि हुने भन्दै भट्टराईलाई शुभकामना दिए । भट्टराईले गत असोज ९ गते माओवादी परित्याग गरी नयाँ शक्ति घोषणा गरेका हुन् । कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरि, सुरेन्द्र चौधरी, समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राप्रपा नेता सुनील थापा, राप्रपा नेपाल नेता सुशील श्रेष्ठ, नागरिक अगुवा सुन्दरमणि दीक्षितलगायतले बोलेका थिए ।
भारतबाट आएका नेसनलिस्ट कंग्रेस नेता डीपी त्रिपाठी, जनता दल युनाइटेड नेता केसी त्यागी, बहुजन समाज पार्टी प्रवक्ता सुधीन्द्र भदोरिया, पत्रकार आनन्दस्वरूप बर्माले पनि शुभकामना दिए । ब्राजिलकी राजदूत मारिया टेरेसा पेसोवाले पनि बोलेकी थिइन् । भारतीय राजदूत रणजित राय उपस्थित थिए भने चीन, अमेरिकाका भने प्रतिनिधि सहभागी थिए ।
 
सहभागीमा मधेसी र अल्पसंख्यक बढी

नयाँ शक्तिको घोषणा सभामा मधेसी, जनजाति र अल्पसंख्यकको उल्लेख्य सहभागिता थियो । गाडी भाडामा लिएर सहभागीलाई राजधानी ल्याइएको थियो । दलित, थारू, तामाङ, तेस्रो लिंगीलगायत अल्पसंख्यकहरू जुलुससहित सहभागी थिए । परम्परागत ढंगले मञ्चमा कुनै अतिथि राखिएन ।
भित्तेलेखन नगरिएको सभामा निर्मित मञ्चको सजावट डिजिटल प्रविधि अंगालिएकाले छरितो देखिएको थियो । सोमबार र मंगलबार कमलादीमा आयोजना हुने छलफल सत्रले आगामी योजना बनाउने नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषद् सदस्य डम्बर खतिवडाले बताए ।


0 comments

Write Down Your Responses