किन पेलिन्छन् निर्माता?

जेष्ठ २९, २०७३- शुक्रबारदेखि फिल्म ‘गाजलु’ देशव्यापी प्रदर्शनमा आएको थियो। तर यसका निर्माता रोहित अधिकारी भने चाबहिलस्थित गोपीकृष्ण हलअघि बसेर जोडतोडले माइकिङ गरिरहेका थिए, ‘गाजलु फिल्म गोपीकृष्णमा लागेको छैन। नजानु होला।’ फिल्म लागेका हलमा प्रचारप्रसारमा दौडिनुपर्ने रोहित नलागेको हलमा समय गुजारिरहेका थिए। फिल्म उद्योगका लागि रोहित नयाँ हुन्। पहिलो फिल्म ‘गाजलु’ बाटै उनले प्रदर्शनमा तीतो अनुभव बेहोरे। सात–सात पर्दा भएको गोपीकृष्णले दर्शकअनुसार हल नदिएको रोहितको आरोप छ।

‘गोपीकृष्णका दुई हल ‘कृष्ण’ र ‘शिवाय’ हाउसफुल भएर दर्शक फर्कन थालेपछि हामीले ठूलो हल ‘गोपी’ पनि दिन आग्रह गर्‍यौं। तर उहाँहरूले नेपाली फिल्मलाई दिन मिल्दैन भन्नुभयो। हामीलाई हेपेको जस्तो फिल भयो,’ त्यसपछि रोहितले दोस्रो सोबाटै फिल्मलाई गोपीकृष्णबाट उतारे। हलको कोपभाजनमा परेको ‘गाजलु’ पहिलो फिल्म भने होइन। यसअघि पनि ‘कबड्डी’ ले यस्तै नियति भोग्नुपरेको थियो। उक्त फिल्मका निर्माता माधव वाग्ले सम्झिन्छन्, ‘हाम्रो पनि ‘कबड्डी’ लाई साना दुई हल ‘नम:’ र ‘शिवाय’ दिइएको थियो। पहिलो सो नै ओभरफ्लो भएपछि ठूलो हल माग्यौं। तर दिइएन। जब कि ठूलो हल ‘गोपी’ मा लगाइएको ‘टु स्टेट’ मा ६२ जना दर्शक मात्रै थिए।’ त्यसपछि ‘कबड्डी’ युनिटले गोपीकृष्ण परिसरमै तुल टाँस्यो, ‘‘कबड्डी’ गोपीकृष्णमा चलेको छैन।’
त्यसै पनि हलवाला र निर्माताबीच सम्बन्ध सुमधुर छैन। निर्माताहरू आफ्नो सृजना बेचेर हलवालाले मनोमानी चलाइराखेको आरोप लगाउँछन्। निर्माता माधव थप्छन्, ‘हाम्रै फिल्म चलाएको पैसा दिन पनि हलवालाहरू छ महिना बढी कुराउँछन्। हरेकपटक यही प्रक्रिया दोहोरिँदै आएको छ। यस्तोमा चलचित्र संघ लगायत संघसंस्थाले सहजीकरण गर्नुपर्ने हो। त्यस्तो भएको पाइँदैन।’ पछिल्लो समय गतिलो भएको खण्डमा एउटै फिल्मको एकै दिन लाखौं रुपैयाँको टिकट बिक्री हुन्छ। कम्तीमा साता दिनमा करोडौंको कारोबार भए पनि निर्माताको पैसा लामो समय फ्रिज हुने गरेको छ। कम्प्युटराइज्ड टिकेटिङ सिस्टम नभएका हलले त जति हिसाब बुझायो त्यतिमै विश्वास गर्नुपर्ने अर्को बाध्यता निर्मातासामु छ।

अनमोल केसी र सृष्टि श्रेष्ठलाई लिड रोलमा लिएर ‘गाजलु’ बनाएका निर्माता रोहितले प्रिमियरमा बटुलेको प्रतिक्रियाले जति उत्साहित थिए, गोपीकृष्णको घटनाले दु:खी बनाएको बताउँछन्। गोपीकृष्णका जनरल म्यानेजर तीर्थ पौडेल भने रोहितका आरोपको प्रतिउत्तरमा भन्छन्, ‘हामी पनि व्यापार गर्नै आएका हौं।’ उनले व्यापारमा नाफा र घाटा हेरिनेतर्फ इंगित गर्दै थपे, ‘उहाँहरूले गोपी हल माग्नुभएको थियो। जहाँ हाम्रो करोडौं रुपैयाँमा किनेर ल्याएको फिल्म चलिरहेको थियो। त्यसैले मिल्दैन भन्यौं।’ गोपीको सट्टामा बरु साना तीन हल दिन आफूहरू राजी भए पनि ‘गाजलु’ टिम नमानेको तीर्थले दाबी गरे। ‘गोपीमा त ‘हाउसफुल’ फिल्म छ। त्यो हाम्रो फिल्म हो। त्यसबाट हुने व्यापारको शतप्रतिशत हाम्रै हुन्छ। हामी आफ्नो हटाएर अरूको फिल्म लगाएर व्यापारको आधा–आधा गर्न सक्दैनौं,’ तीर्थले कान्तिपुरसँग भने। ‘फेरि सुरु भयो गोपीकृष्ण हलको मनोमानी’ ‘गाजलु’ हलबाट उतारिएको घटनापछि ‘कबड्डी’ को घटना सम्भँmदै त्यसका निर्देशक निश्चल बस्नेतले फेसबुकमै लेखे, ‘‘गाजलु’ पनि त्यस हलबाट उतार्दै छन् निर्देशक निर्माता। ‘कबड्डी’ काण्ड फेरि दोहोरिँदै छ।’ उनले आफू ‘गाजलु’ को पक्षमा रहेको पनि जनाएका छन्। अर्का निर्देशक प्रचण्डमान श्रेष्ठ पनि गोपीकृष्णको रबैयाप्रति विमति राख्छन्। ‘अझै पनि एकाध प्रदर्शकहरूमा पुरातन सोच, अव्यावसायिक मानसिकता र स्वदेशी फिल्मप्रति सौतेनी व्यवहार गर्ने प्रवृत्ति कायम रहेको देख्दा दु:ख लाग्छ,’ उनले युवा पुस्ताका फिल्मकर्मीहरू प्रदर्शकहरूसँग सह–अस्तित्वको सिद्धान्तमा पारस्परिक सम्मान, सहकार्य र व्यावसायिक इमानदारिताको अपेक्षा राख्ने गरेको प्रस्ट्याउँदै प्रश्न गर्छन्, ‘के व्यावसायिक इमानदारिता, पारदर्शिता र फिल्मको क्षमताअनुसार सोज र सिट संख्या माग्नु गलत हो?’ प्रचण्डमानले पनि ‘गाजलु’ को अडानप्रति आफ्नो ऐक्यबद्धता जनाएका छन्।

निर्माता रोहितले ६० प्रतिशत सेयर हललाई दिन लिखित मञ्जुरी जनाए गोपी दिन सकिने गोपीकृष्ण मुभिजका अर्का प्रदीप खड्काले प्रस्ताव राखेको बताए। ‘आफ्नै फिल्मको आम्दानी ४० प्रतिशत मात्रै लिएर त कसरी मान्नु हामीले?’ रोहितले भने। जीएम तीर्थले भने सेयर बाँडफाँडबारेमा आफूलाई जानकारी नभएको बताएका छन्। ‘गाजलु’ निर्देशक हेमराज बिसी पनि हलबाटै फिल्म उतार्नुपर्ने अवस्था आएपछि आक्रोशित देखिए। ‘आखिर कहिलेसम्म?’ यसअघि ‘होस्टेल’, ‘जेरी’ जस्ता सफल फिल्म दिएका हेमराजले थपे, ‘दु:ख लाग्छ, नेपालमै नेपाली फिल्मलाई यसरी हेपेको देख्दा। दर्शकको माग हुँदाहुँदै मागबमोजिम सो नदिएर जबर्जस्ती विदेशी फिल्म लगाउने हेपाहा प्रवृत्तिप्रति हाम्रो अभियानअन्तर्गत गोपीकृष्णबाट फिल्म निकालेका हौं।’ गोपीकृष्णबाट फिल्म उतारेपछि नजिकै रहेको एफक्यूबले ‘गाजलु’ को सो बढाएको छ। त्यसो त फिल्मको ओपनिङ व्यापार राम्रो देखिएपछि अन्य मल्टिप्लेक्सले समेत सोज थपेका छन्।

यस साता प्रदर्शकको कोपभाजनमा ‘गाजलु’ मात्रै परेन, ‘कालो पोथी’ पनि पर्‍यो। जेठ २१ मा देशभरका मल्टिप्लेक्समा मात्रै रिलिज भएको ‘कालो पोथी’ ले एक सातापछि राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण हलसहित सिंगल स्क्रिन हलमा रिलिज गर्न खोज्दा झन्डै बहिस्कार खेप्नुपर्‍यो। फिल्मको उपत्यका वितरणको जिम्मा लिएको पपकर्न पिक्चर्सका माधव वाग्लेका अनुसार गोपीकृष्णकै तीर्थ फिल्म नलगाउने अड्डी कसिरहेका थिए। ‘पछि उपत्यकाबाहिरको वितरण जिम्मा गोपीकृष्णसँग आबद्धले नै लिएपछि लगाउन बाध्य भयो। अझै पनि अष्टनारायण र गुणले लगाएका छैनन्,’ माधवले जनाए। व्यावसायिक सफलता नै चाख्न नपाएका फिल्म निर्माताको त के कुरा? चलेका फिल्मका निर्माताले समेत व्यापारअनुसारको हिसाब नपाउनेदेखि फिल्मको पाइरेसी खेप्नुपर्ने समस्या भोगिरहेका छन्। यस्तोमा हलको मनोमानीले आगन्तुक फिल्मकर्मीलाई भने हतोत्साही पार्ने निश्चित छ। एक निर्माताले दुखेसो पोखे, ‘हामीकहाँ बरु फिल्म बनाउन त्यति गाह्रो नहोला, जति चलाउन अनि त्योअनुसार हलबाट पैसा उठाउन। यस्तो भएपछि गतिला मान्छे कसरी आउँछन् त?’
“गाजलु” को ओपनिङ राम्रो
हेमराज बिसी निर्देशित ‘गाजलु’ को रिलिज पूर्वसन्ध्यामा बिहीबार राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ। फिल्मका युनिट, कलाकार, सञ्चारकर्मी र फिल्मकर्मीको बाक्लो उपस्थितिबीच अनमोल केसी र सृष्टि श्रेष्ठ अभिनीत फिल्म देखाइएको थियो।
जीवित देवी मानिने कुमारी जब कुमारी घर छोडेर बाहिरी संसारमा आउँछिन्, तब उनलाई घर, समाजले हेर्ने दृष्टिकोणले उनको स्वतन्त्रतामा कस्तो असर गर्छ भन्ने कथालाई हेमराजले सरल प्रस्तुति दिएर प्रिमियरमा आउने दर्शकको मन जित्न सफल भए। पहिलोपटक फिल्ममा अभिनय गरेकी सृष्टिको कामलाई धेरैले प्रशंसा गरेका छन्। पूर्व कुमारीको भूमिकामा रहेकी उनी नै फिल्मकी मुख्य पात्र हुन्। सृष्टि र अनमोलसहित फिल्ममा गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान लगायतको अभियन रहेको छ। रोहित अधिकारी यसै फिल्मबाट निर्माताका रूपमा भित्रिएका छन्।
फिल्मले रिलिजको पहिलो दिन शुक्रबार सुखद ओपनिङ गरेको छ। पहिलो दिनको व्यापारका आधारमा अधिकांश मल्टिप्लेक्सले शनिबारको सोज बढाएका छन्।



0 comments

Write Down Your Responses