शारदाको संघर्ष
जेष्ठ २९, २०७३- १८ वर्षअघि ओमन छिर्नुअघि खोटाङकी शारदा तिवारीले ९ महिने काखे छोरालाई भाउजूको जिम्मा लगाइन् । चार र दुईवर्षे छोरीहरू साथीको घरमा छाडिन् । अहिले उनलाई घर फर्कन छोरीहरूको दबाब छ । भन्छिन्, ‘सपना पूरा गर्नलाई घर छोडिन्छ तर कसलाई थाहा हुन्छ कि एक दिन घर फर्कन नै सपना बनिदिन्छ ।’ अस्पतालमा दैनिक १६/१७ घन्टा काम गरेको देख्ने चिकित्सकहरू शारदालाई भन्ने गर्छन्, ‘तिमी यति दु:ख किन गछ्र्यौ । आफ्नो कुरा किन सरकारलाई भन्दिनौ ।’ जति दु:ख सामुन्ने आउँछ, उनलाई त्यति हाँस्न मन लाग्छ । आदत भइसक्यो उनलाई यो । ममी अब फेरि नजाने गरी घर फर्केर आउनुस् है,’ १८ वर्षीया छोरीले शारदा तिवारीलाई टेलिफोन गर्दा बारम्बार भन्ने गर्छिन्, ‘बालखदेखि नै हजुर हाम्रो साथमा हुनुभएन । सँगै बस्ने ठूलो रहर छ ।’ आमाको मन न हो, बहकिहाल्छ, तैपनि सम्हालिएर सम्झाउँछिन् उनी । ‘तिमीहरूलाई पढाएर बाटो देखाइदिएपछि मात्रै मेरो खाडीको बसाइ सकिन्छ नानू,’ ओमनको राजधानी मस्कटस्थित भारतीय स्कुल गेटअगाडि भेट्दा उनी फोनमा छोरीलाई सम्झाइरहेकी थिइन्, ‘यो वर्ष फेरि भिसा थपेको छु । अर्को वर्ष भेटौंला है ।’ खोटाङकी शारदाले १४ वर्षकै उमेरमा आफैंले मन पराएर गाउँकै साइँलासँग विवाह गरिन् । गरिबसँग बिहे गरेको भन्दै उनको माइती पक्षले स्विकारेन । खोटाङबाट झरेर दमक, झापामा गुजारा चलाउँदै आएका पतिको अचानक मृत्यु भएपछि शारदा एक्ली भइन् । श्रीमान् बित्दा चार, दुई वर्षकी छोरी र ६ महिनाको काखको छोरो थियो । बच्चाहरूको जिम्मेवारी शारदाको काँधमा सर्यो । तर ५० रुपैयाँ डेरा भाडा तिर्ने हैसियत पनि थिएन उनीसँग । भारतीय सेनामा कार्यरत जेठा दाइले उनलाई खोटाङ नै पठाउने व्यवस्था गरे । दुई छोरीलाई दमकमै एउटी साथीको जिम्मा छाडी काखे छोरा मात्र लिएर उनी माइत पुगिन् । तीन महिनापछि आफन्तले बच्चाहरूलाई अनाथालय पठाउने चाँजोपाँजो मिलाउन थाले । यो चाल पाएपछि शारदाले अठोट लिइन्, ‘मेरा बच्चाहरूको बाउ पो बितेको हो, आमा होइन । सबैको माया लिएर म घर सम्हालेर देखाउँछु । उनीहरूको अगाडि बच्चाहरूलाई राम्रोसँग पढाउँछु । बाटो देखाउँछु । बरु म विदेश जानै किन नपरोस् ?’ ..... शारदाले श्रीमान्को थर पाइसकेकी थिइन् । नागरिकता र राहदानी बनाइन् । विदेश त जाने, तर कुन देश ? भाउजूकी मितिनी ओमनमा कार्यरत थिइन् । ‘साउदी, कुबेतमा समस्या छ,’ मितिनी भाउजूको सुझाव आयो, ‘ओमनमै आउँदा राम्रो हुन्छ । पठाउने मान्छे चिनाइदिन्छु ।’ त्यतिखेर ५० हजार रुपैयाँ खोजिन् । पठाउने मान्छेसँग सम्पर्क भयो । जानेमा ६ जना दिदीबहिनी भए । पठाउनेले बम्बई जानुपर्ने बतायो । ९ महिने छोरा भाउजूलाई जिम्मा लगाइन् । दुई छोरी साथीकै घरमा थिए । खोटाङबाट ंिहड्दै चार दिनमा कटारी पुगेपछि काँकडभित्ता लागिन् । त्यहाँ विदेश जानेलाई प्रहरीले रोक्यो । ‘तपाईंले आज रोके पनि म जसरी पनि विदेश जान्छु,’ प्रहरीसँग उनले प्रस्ट बताइन्, ‘मेरा बच्चाहरू पाल्नु छ । ...तीनजनाको जिन्दगी बन्छ भने म जान्छु । गरी खान मलाई रोक्न पाउनुहुन्न ।’ प्रहरीको केही लागेन । बम्बईमा दुई महिना बसिन् । सबैभन्दा पहिला शारदाकै भिसा आयो । उनमा खुसीको सीमा रहेन । ठानिन्, ‘अब म पनि नानीहरूलाई पढाउन सक्छु । घर बनाउन सक्छु ।’ उनी ओमनको सलालह पुगिन्, राजधानी मस्कटबाट हजार किमि टाढा । मालिक प्रहरी थिए, मालिक्नी शिक्षिका । तिनका दुई बच्चा हेर्ने र खाना पकाउने गर्नुपथ्र्याे उनले । अलग देश, बेग्लै परिवेश । कसैसँग नडग्ने शारदा अर्काको भूमिमा आएपछि डराउन थालिन् । नेपाली कसैले नबुझ्ने, अरबी उनी नबुझ्ने । ‘भाषा नभएपछि मान्छे अपूर्ण हुँदोरहेछ,’ उनले सम्झिइन् । इसाराकै भरमा उनले कामको मेसो समाउन थालिन् । कति काम बन्थ्यो तर कति भनेको भन्दा उल्टो हुन्थ्यो । शारदा जब मालिक्नीका बच्चालाई खाना खुवाउन थाल्थिन्, दमकमा भएका आफ्नै छोराछोरी आँखा अगाडि आइपुग्थे । ‘मेरो कर्ममा सिन्दूर त पुछियो । बच्चाहरूसँग पनि किन विछोड भएर बस्नुपर्यो ?’ आफूले आफैंलाई सोध्ने गर्थिन् । सम्झेर एक्लै खाना खान सक्दिनथिन् । पानी मात्रै पिएर कैयांै रात अनिदो बिताएको उनले सुनाइन् । त्यति बेला अहिलेजस्तो टेलिफोन सुविधा थिएन, ट्रंकल गर्नुपथ्र्यो । एकै छिनको समय पाउँदा बुथबाट फोन गर्न पुग्थिन् उनी । कतिपटक दिनभर कुर्दा पनि सम्पर्क हुँदैनथ्यो । फोन सम्पर्क भइहाल्यो भने भाउजूलाई धम्की दिन्थिन्, ‘मेरो छोरोलाई केही भइहाले म ओमनबाट फर्किन्नँ ।’ त्यति बेला शारदाले आफ्नो मनका बहहरू क्यासेटमा भरेर पनि खोटाङ पठाइन् । उताबाट जवाफ पनि क्यासेटमै आउँथ्यो । शारदाको कामबाट ओमनी परिवार पनि खुुसी थिए । शारदाको दु:ख बुझेका उनीहरू छोरीसरह व्यवहार गर्थे । रहँदा–बस्दा शारदा अरबी र उनीहरूको रहनसहन संस्कृतिमा पोख्त भइन् । तलब आठ हजार रुपैयाँ आउँथ्यो, यसैमा उनले बच्चाहरूको सुखद भविष्य देखेकी थिइन् । ..... गाउँमा बच्चा हुर्किरहेका बच्चाहरूले बुबा र आमा दुवै ओमनमा काम गर्न गएको ठान्थे । ‘बुझ्ने भएपछि बच्चाहरूले आफैं एक दिन वास्तविकता थाहा पाउनेछन्,’ शारदा आमा र भाउजूलाई भन्थिन्, ‘अहिले केही नभनिदिनु ।’ छोरीहरू एउटै गुनासो गर्थे, ‘साथीहरूलाई उनीहरूका ममीले ड्ेरस लगाइदिन्छन् । कपाल कोरिदिन्छन् । टिफिन हालिदिन्छन् । दसैंमा लुगा किन्न सँगै जान्छन् । तपाईंचाहिँ किन सधैं बाहिर बस्नुहुन्छ ?’ यो सुन्दा उनलाई औडाह हुन्थ्यो । मिल्ने भए हामफालेर भेट्न जाउँजस्तो † ५/६ वर्षको अन्तरालमा स्वदेश फिरे पनि फेरि मुटुमाथि ढुंगा राखेर परदेसिन्थिन् । छोरीहरूलाई सरकारी स्कुल पढाइन् । छोरालाई दाइले आफ्नै खर्चमा बोर्डिङमा हालिदिए । लखनपुर—३ दमक, झापामा जग्गा किनेर घर बनाइन् । यसका लागि ओमनी परिवारले पनि गुन लगायो । १२ वर्षसम्म १२ हजार रुपैयाँ तलब पाइरहेकी शारदालाई बढी कमाउन बाहिर काम गर्न छोडिदियो । ‘अरबीको पनि मन छ । कुरा बुझ्छन् । कति आफू गुना पनि हुन्छ । उनीहरूलाई बुझाउनुपर्दोरहेछ,’ शारदाले सुनाइन्, ‘साहुनी मेरै आमाजस्ती लाग्छ । उनीहरूले भन्छन्— हाम्रो सहयोगले तिम्रो छोराछोरीको जीवन बन्छ भने हामी हरपाइलामा साथ दिन तयार छौं ।’ पछिल्लो ६ वर्ष उनीहरूको भिसामा शारदाले बाहिरै काम गरिरहेकी छन् । अस्पतालमा काम गर्न थालेकी छन् । महिनाको ५० हजार रुपैयाँ जोगाउँछिन् । आफूलाई खाडीमा कार्यरत हजार महिलामा एक ठान्छिन् उनी । ..... अस्पतालमा दैनिक १६/१७ घन्टा काम गरेको देख्ने चिकित्सकहरू शारदालाई भन्ने गर्छन्, ‘तिमी यति दु:ख किन गछ्र्यौ । आफ्नो कुरा किन सरकारलाई भन्दिनौ ।’ जति दु:ख सामुन्ने आउँछ, उनलाई त्यति हाँस्न मन लाग्छ । आदत भइसक्यो उनलाई यो । ‘जिन्दगीमा माया भन्ने के हो थाहा छैन । मायामा मेरो सफलता छैन,’ उनले भनिन्, ‘खाडीले संघर्ष गर्न मात्रै सिकायो ।’ फेरि ओमनबाट बिदामा गए उनलाई थाहा छ, अब छोरीले फर्किन दिँदैनन् ।’ ३७ वर्षीय शारदा पछिल्लोपटक स्वदेश नफिरेको ५ वर्ष हँुदै छ । ‘ठूली छोरीको विवाह भयो । माइली छोरी र छोरा कलेजमा पढ्न थालेका छन् । उनीहरूको पढाइको फी झन् बढ्दै छ । फर्किहाल्ने आँट जुटाउन हिम्मत आइसकेको छैन,’ सुनाइन्, ‘सपना पूरा गर्नलाई घर छोडिन्छ तर कसलाई थाहा हुन्छ कि एक दिन घर फर्कन नै सपना बनिदिन्छ ।’



0 comments
Write Down Your Responses